काठमाडौं । फिर्केखोलामा पुल निर्माणका लागि निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोडिएको छ । पटक पटक म्याद थप गरेर काम गर्न ताकेता गर्दा समेत निर्माण पूरा नभएपछि सडक डिभिजन कार्यालय पोखराले ठेक्का सम्झौता तोडेको हो ।
कार्यालयले निर्माण कम्पनी शान्ति–आरोग्य जेभी सानेपा ललितपुरलाई कालोसूचीमा राख्न सिफारिस समेत गरेको छ । पुल निर्माणका लागि विसं २०७५ असोजमा ठेक्का सम्झौता भएको थियो । सम्झौताको ३० महिना अर्थात् विसं २०७७ चैत ३० भित्रमा पुल निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म तीन पटक म्याद थप गरिसक्दा समेत निर्माण पूरा हुन सकेको छैन ।
निर्माण कम्पनीले काम सम्पन्न नगरेको र काम गर्ने अग्रसरता समेत नदेखाएपछि ठेक्का सम्झौता तोड्नु परेको कार्यालयले जनाएको छ । अब अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि नयाँ ठेक्का प्रक्रिया सुरु हुने समेत कार्यालयले जनाएको छ ।