काठमाडौं। संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद् राजेन्द्र लिङदेन संयोजकत्वमा गठित संसदीय उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्न सिफारिस गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियममता भएको भन्दै लेखा समितिमा उजुरी परेपछि समितिले बनाएको उपसमितले यस्तो सिफारिस गरेको हो ।
उपसमितिले सोमबार संयोजक लिङ्देनले मूल समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएको अध्ययन प्रतिवेदनमा तत्काल २ अर्ब २२ करोड असुल गर्न सिफारिस गरिएको छ।
मुल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरी पटकपटक नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयले मास्टर लिस्टका आधारमा आर्थिक अनियमितता गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कर छुट दिने सम्बन्धमा त्यसको औचित्य एवं सैद्धान्तिक आधार के कस्तो थियो भनेर समितिले पत्राचार गर्दा अर्थ मन्त्रालयले कुनै जानकारी नदिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।