काठमाडौं। खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान नगर्न पुनः चेतावनी दिएको छ । पालिकाले सगरमाथा क्षेत्रमा तोकिएको सर्तबाहेकको अवस्थामा हेलिकप्टर उडान नगर्न पुनः चेतावनी दिएको हो।
अहिले सगरमाथा र आसपास रहेका हिमालमा पर्वतारोहणको मुख्य मौसम जारी छ । गाउँपालिकाले सन् २०२५ सुरुवातबाटै हेलिकप्टरको व्यावसायिक उडान उक्त गाउँपालिकाभित्र निषेध गरिएको स्मरण गराउँदै यो नियम संशोधन नभएको स्पष्ट पारेको छ ।
सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानका लागि गाउँपालिकाले सर्त राखेको छ । सर्त अनुसार यस क्षेत्रमा उद्धार उडान गर्न भने पाइने छ ।
उडान स्थलमा रहेको स्वास्थ्य संस्थाबाट सिफारिस प्राप्त भई अन्यत्र ‘होल्ड’ नगरी सिधै स्वास्थ्य संस्थामा लैजानुपर्ने वास्तविक रेस्क्यु उडानलाई मात्र यस्तो अनुमति दिइने गाउँपालिकाले जनाएको छ ।
कार्गो फ्लाइट अन्तर्गत पर्वतारोहीका सामान लिएर आएको हेलिकप्टरलाई पाङबोचेसम्म र अनुमति लिएर गरिने अन्य उडान भने गर्न पाइने गाउँपालिकाको भनाइ छ ।