काठमाडौं । स्याङ्जाको आँधीखोला गाउँपालिका र फेदीखोला गाउँपालिका जोड्ने सडक कालोपत्र भएको छ । आँधीखोला गाउँपालिका–५ जुग्ले हुँदै फेदीखोला गाउँपालिका–५ को बाँगेलाई जोड्ने सडक कालोपत्र सम्पन्न भएको हो ।
जुग्ले–गोगनपानी खण्डको साढे तीन किलोमिटर सडक ७ करोड ५५ लाख लागतमा कालोपत्र भएको छ । सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत तीन करोड र आँधीखोलाको चार करोड ५५ लाख लागतमा कालोपत्र भएको हो ।
विसं २०८२ साउनभित्र सम्पन्न गर्नेगरी विसं २०७९ माघमा सडक कालोपत्रका लागि विजय/राङखोला सिद्धबाबा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सडकको काम सम्झौताको अवधिभन्दा अगाडी नै सम्पन्न भएको छ ।