जाजरकोट। तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’को काम अन्तिम चरणमा पुगेको छ। कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएको हो।
स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाटका उक्त आयोजनाको विद्युत् उत्पादनगृहमा थप भौगर्भिक अध्ययनका लागि सो काम जारी रहेको जनाइएको छ।
भेरी करिडोर सडकखण्डअन्तर्गत जोडिएको त्रिवेणीबाट जगदुल्ला गाउँपालिका–१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडकखण्डलाई छ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाले बताएको छ।
आयोजना निर्माणस्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ। आयोजनाको वातावरणीय अध्ययनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरीएको छ। उक्त मस्यौदा प्रतिवेदन आगामी माघभित्र पेश गरी चैत महिनाभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।
आयोजनाको विद्युत् उत्पादनगृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुई भवन निर्माण गरिएका छन्।
वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडि बढाई आगामी आर्थिक वर्षदेखि निर्माण सुरु गर्ने आयोजनाको दाबी छ। विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसमक्ष प्रतिवेदन पेश गर्नुका साथै स्वीकृत गरेर खरिद बिक्रीको सम्झौतासमेत तीन महिनाभित्र गरिसक्ने लक्ष्य रहेको छ।