काठमाडौं। नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलमोड सडक १० दिन आंशिक रुपमा बन्द हुने भएको छ । सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म नागढुंगा–पिपलमोड सडक आंशिक रुपमा बन्द गरिने भएको हो ।
नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का अनुसार सडकमा राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने भएको हो । काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ । नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।
यातायातमा समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । वैकल्पिक मार्गका रुपमा सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग प्रयोग गर्न सकिने छ ।