काठमाडौं । वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण विस्तारका क्रममा रहेको दाउन्ने क्षेत्रमा सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरेका छन् ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारी साधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए ।