कास्की । निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल हटाउन सहमति भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा विद्युत् प्राधिकरणले पोल हटाउने सहमति भएको हो ।
विद्युत् पोलका कारणले योजनाको काममा असर परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटसमेत यसका बारेमा चासो व्यक्त गरिएको र समाधानका लागि सहजीकरण भएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले बताए ।
योजनाका अनुसार कास्की खण्डस्थित चार लेन सडकभित्र पर्ने सैनिकबस्ती–विश्वविद्यालय १८ र आदर्शचोक–तालचोकका ४९ गरी ६७ पोल हटाउनु पर्नेछ । यसैगरी डाँडाको नाकदेखि विजयपुरसम्म ९० वटा पोल नालीमा परेका छन् । यी पोलका कारण यस क्षेत्रको काम अगाडि बढाउन समस्या छ ।
मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्म ४१ किमी रहेको छ । यस खण्डमा हालसम्म एकतर्फी ३५ किमी सात सय मिटरमा प्रथम तहको कालोपत्र गर्ने कार्य सकिएको बताइन्छ । हालसम्म ५० दशमलव ३४ प्रतिशत भौतिक प्रगति भएको योजना कार्यालयले जनाएको छ ।