काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड सडकको नागढुङ्गा–नौबिसे खण्ड आजदेखि राति बन्द गरिने भएको छ । नागढुङ्गा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा–नौबिसे खण्ड बन्द गरिने भएको हो ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोक्ने जानकारी दिएको हो ।
काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला–भीमुढङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी(टोखा(गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध समेत गरेको छ ।