काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग आयोजनाको काठमाडौं उपत्यका बाहिरका जग्गाको मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको बताएका छन् । मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले द्रूतमार्गको प्रगति बढ्दै गएको बताएका हुन् ।
उनले आयोजना अन्तर्गत काठमाडौँतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानोन्मुख भइरहेको बताए । उनले भने, “द्रूतमार्गअन्तर्गत खोकना क्षेत्रमा मुख्य समस्या छँदैछ, तर त्यो खोकना क्षेत्रभित्र पनि क्रमशः प्रगति हुन थालेको छ । काठमाडौँ उपत्यकाबाहिरका समस्या समाधानको अन्तिम चरणमा पुगेका छन् । यसआधारमा द्रूतमार्गमा क्रमशः प्रगति हुँदै आएको छ ।”
द्रूतमार्गको प्याकेज नं ११ अन्तर्गत खोकना इलाकामा जग्गा अधिग्रहण, सुरु विन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न मुआब्जा वितरण, सम्भावित विकल्पको डिजाइन निर्माण तथा विस्तृत सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन तयार गरी निर्णयका लागि पेस भएको मन्त्रालयले जनाएको छ ।