म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा प्राप्त बजेटमध्ये रु पाँच लाख ६७ हजारको लागतमा डाडाँगाउँको सिउदीभीरदेखि औँलसम्म तीन सय मिटर पदमार्ग निर्माण गरिएको हो ।
भीर काट्ने, पर्खाल लगाउने, सोलिङ र ढुङ्गाको सिँढी लगाएर पदमार्ग निर्माण गरिएको पालिकाले जनाएको छ । यसैगरी रु चार लाख १४ हजारको लागतमा बिम नरालेदेखि बिम्बाङसम्म एक सय ४२ मिटर नयाँ पदमार्ग र तीन सय ५० मिटर पदमार्ग मर्मतसम्भार गरिएको पालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा विनियोजत विभिन्न १४ योजनामध्ये तीन योजना सम्पन्न भएको र अन्य योजनाहरू निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यहाँका स्थानीय दुई सय १० जना लाभान्वित भएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट प्राप्त रु ५३ लाख ७४ हजार बजेटबाट पालिकाका सातवटै वडामा १४ वटा योजना सञ्चालन गरिएको छ ।