काठमाडौं । काठमाडौंको ऐतिहासिक बालाजु बाइसधारा क्षेत्रमा रहेको पौडी पोखरीको पुनः निर्माण सम्पन्न भएको छ । पुनः निर्माण सम्पन्न भएसँगै पोखरीको सुरक्षित र व्यवस्थित सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले इनडोर पौडी पोखरी बनाउने र गुरुयोजना अनुसार सम्पूर्ण संरचनालाई व्यवस्थापन गर्ने तयारी गरेको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले पोखरीको संरचना क्षतिग्रस्त बनेपछि पानी चुहिने समस्या देखिएको थियो । त्यसपछि पोखरीको पुनः निर्माण कार्य सुरु गरिएको थियो । ७ करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको लागतमा पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख ३१ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको हो । निर्माण कार्य २०७९ असोज ५ गते सुरु भई २०८० चैत १९ गते सम्पन्न भएको हो ।
पुनः निर्माण गरिएको पोखरी ५० मिटर लम्बाइ, १८ मिटर चौडाइ र ३ देखि १० फिटसम्म गहिराइको छ । कुल १८ लाख लिटर पानी अट्ने क्षमतायुक्त यस पोखरीमा स्वचालित पिएच र क्लोरिन सन्तुलन प्रणाली जडान गरिएको छ । दर्शकका लागि १५० जनासम्म अट्ने बस्ने ठाउँ, शुद्धीकरण प्लान्ट, लकर सुविधा, नयाँ शौचालय तथा स्नानगृह, काँडे तार सुरक्षा, र प्रवेश व्यवस्थापनसहित अत्याधुनिक पूर्वाधार तयार गरिएको छ ।