काठमाडौं। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जाने पदमार्ग निर्माण गरिएको छ। सो पदमार्गमा सिढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ।

मुस्ताङ पर्यटकीय थलो भएका कारणले गर्दा पर्यटनको आवागमन अत्यधिक मात्रामा बढाउनको लागि पछिल्लो समयमा सो क्षेत्रमा पर्यटकीय पूर्वाधारहरु निर्माण गरिदैँ आएको छ। कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउनको लागि पूर्वाधार निर्माणलाई जोड दिइएको छ। सो क्षेत्रमा सिढि निर्माण हुनुभन्दा पहिले धार्मिक पर्यटकहरुले मुक्तिनाथ मन्दिरको दर्शन गर्न जानको लागि विभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्दथ्यो। तर हाल सिढि निर्माण भएपछि मन्दिर दर्शन गर्न सहजै पुग्ने गरेको भक्तजनहरुको भनाइ रहेको छ।

यसैगरी पछिल्लो समय धार्मिक क्षेत्रमा पर्यटकको चहलपहल पहिलेको तुलनामा बढ्दै गएको हुनाले पर्यटकहरुको लागि लोकप्रिय रहेको मुक्तिनाथ पुग्नको लागि सिढि निर्माण गरिएको हो। यसले पर्यटन प्रवद्धृनमा सहयोग पुग्ने देखिएको छ। आन्तरीक तथा बाह्य धार्मिक पर्यटकको आकर्षण बढाउने उद्देश्यका साथ सो सिढि निर्माण गरिएको हो। यसले मुक्तिनाथ क्षेत्रको पर्यटन व्यवसाय पनि फस्टाउने आशा पर्यटन व्यवसायीहरुको रहेको छ। जसको कारणले आर्थिक विकासमा पनि टेवा पुग्ने छ।
