काठमाडौं । कैलालीको टिकापुररदुर्गौलीदेखि साँफेबगर हुँदै बझाङको चैनपुरसम्म कार्यक्षेत्र रहेको सेती लोकमार्गको हालसम्म १२८ किमी ‘ट्र्याक’ खुलेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज राष्ट्रियसभामा आज भएको मौखिक प्रश्नोत्तरका क्रममा सेती लोकमार्गको १२८ किमी ‘ट्र्याक’ खुलेको जानकारी दिएका हुन् ।
लोकमार्गको कुल लम्बाइ २०४ किलोमिटर रहेकामा अझै ७६ किमी ट्र्याक खुल्न बाँकी रहेको छ। मन्त्री दाहालले आयोजनाहरू तोकिएको गुणस्तर, समयावधि र लागतमा सम्पन्न गर्न मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा सजग रहेको बताए।
मन्त्री दाहालले कतिपय आयोजनाहरू समयसीमा र तोकिएको गुणस्तरमा सम्पन्न भएका र केही आयोजना समयमा सम्पन्न हुन नसकेकामा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । मन्त्रालयले हाल सम्पूर्ण आयोजनाको कार्ययोजना निर्माण गरी समयतालिका, समस्या तथा जोखिम र जिम्मेवार पदाधिकारी तोकी प्रभावकारी अनुगमन गर्ने र हरेक महिना समीक्षा गर्ने परिपाटी लागू गरिएको पनि उनले जानकारी दिए।