काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको तेस्रो बैठकले नेपालभरि निर्माण गरिएका पदमार्गको मापदण्ड एउटै बनाउने निर्णय गरेको छ ।
बुधबार पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा काठमाडौंमा बसेको विषयगत समितिको तेस्रो बैठकले सबै तहका सरकारले राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड लागु गर्ने निर्णय गरेको हो ।
बैठकले पर्यटन विकासका लागि विभिन्न निर्णय गरेको छ । जसमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी ठानिएको होमस्टे सञ्चालन मापदण्ड समेत सबै तहमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
यसका साथै प्रदेश र स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादाम्यता मिलाउने, संस्कृति तथा पर्यटन क्षेत्रमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णय समेत गरेको छ ।