काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको जलविद्युत्, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा लगानी गर्न श्रीलंकाका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् ।
श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावासले आयोजना गरेको नेपाल–श्रीलंका व्यापार एवं व्यवसाय सम्मेलन क्रममा अध्यक्ष अग्रवालले यस्तो आग्रह गरेका हुन् ।
उनले नेपाल लगानीका लागि अधिक सम्भावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए ।
नेसनल चेम्बर अफ कमर्स श्रीलंकाका पदाधिकारीसँगको भेटमा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भइसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको बताए ।
नेपालमा लगानीका क्षेत्रबारे श्रीलंकाका व्यवसायीलाई जानकारी दिँदै अग्रवालले दुई देशको निजी क्षेत्रबीच ठोस रणनीतिक योजना सहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाइ छ ।