काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएको बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवद्र्धनका लागि समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले पर्यटनबाट समृद्धि हासिल हुने गरी नीतिगत तथा संरचनागत सुधारमा केन्द्रित हुने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले नेपालको पर्वतीय पर्यटनलाई पर्यटन क्षेत्रको महत्त्वपूर्ण अंगका रूपमा उल्लेख गर्दै यसलाई समन्वित ढंगले विकास गर्नु आवश्यक रहेको बताए ।
उनले सगरमाथा लगायत हिमालको ब्रान्डिङ र प्रचारप्रसारका लागि नीतिगत रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत बताए ।
मन्त्री पाण्डेले एकीकृत पर्यटन विकासका लागि सम्बन्धित सबै मन्त्रालयबीच प्रभावकारी समन्वय हुनुपर्ने आवश्यकता औंल्याउँदै पर्यटकीय गन्तव्य प्रवद्र्धन र पूर्वाधार विकासमा मन्त्रालयले विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।