काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बीमा दररेट वृद्धि र नयाँ बीमा सर्त खारेज गर्न माग गरेका छन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र बीमा समितिमा ज्ञापनपत्र बुझाउँदै नयाँ बीमा प्रावधान खारेज गर्न माग गरेका हुन्।

महासंघ र इपानले आगामी पुष १७ गतेसम्म खारेज नभए १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन्। प्रतिस्पर्धाबाट वस्तु तथा सेवाको मूल्य तोक्नुपर्ने विश्वव्यापी नियम विपरित बीमा समितिले नयाँ निर्देशिका जारी गरेको महासंघको आरोप छ।
यस प्रकृतिको बीमा प्रावधानबाट बीमाको आधारभूत अवधारणा नै औपचारिकतामा सिमित गराउने कार्य भएकाले नयाँ निर्देशिका बीमाको सिद्धान्त विपरित रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। यो निर्देशिका निजि क्षेत्रलाई निरुत्साहित गर्दै नेपालको आर्थिक समृद्धिको महाअभियानमा गम्भीर बाधा पुर्याउने प्रसाय भएको समेत महासंघ र इपानको ठहर छ।
‘सरोकारवाला निकायसँग कुनै छलफल नगरी हचुवा र लहडको भरमा अत्याधिक प्रिमियम वृद्धि गरी जारी गरिएको निर्देशिकाले नेपालको उर्जा क्षेत्र र निर्माण उद्योग क्षेत्र लगायत विभिन्न क्षेत्रको लगानी चौपट हुने निश्चित छ।’ ज्ञापन पत्रमा लेखिएको छ, ‘एकतर्फि रुपमा प्रिमियम बढाउनुका साथै एक्सेस भ्यालुमा गरिएको अत्याधिक वृद्धिले बीमा कम्पनीहरुले ठगी गर्ने र स्वार्थलाई सर्वोपरी हुने गरी जारी गरिएको यस निर्देशिकाले व्यवसायीक लागतलाई पनि उच्च बनाएको छ।’