काठमाडौं । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरभित्रका सडक निर्माण कार्य समयमै सक्न निर्देशन दिएका छन् । प्रमुख सिंहले आज बिहान महानगरभित्र निर्माणाधीन सडकको अवलोकन गर्दै समयमै काम सक्न सरोकारवालालाई निर्देशन दिएका हुन् ।
उनले कामको गुणस्तरमा समेत ध्यान दिन आग्रह गरेका छन् । प्रमुख सिंहले आज बिहान वडा नं. २७ स्थित उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको निरीक्षण गरेका छन् । हाल सो सडकमा कालोपत्रे प्रक्रिया अघि बढाउन अतिक्रमण हटाउने कार्य र सडकको बेस निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
यस्तै वडा नं. २१ परवानीपुरमा निर्माणाधीन सडकको पनि महानगर प्रमुख सिंहले आजै निरीक्षण गरेका छन् । वडा नं. २१ मुख्य सडकबाट पटेल नगरतर्फ जाने सडक निर्माणमा भएको अवरोध हटाएर अहिले निर्माणको काम धमाधम भइरहेको छ ।
यस्तै वडा नं. १४ स्थित सानो पिप्रा बौद्धिमाईमा सम्पन्न भएको कालोपत्रे सडकको पनि उनले निरीक्षण गरेका छन् ।