काठमाडौं । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित भवनको विद्यालयको ७७औँ स्थापना दिवस तथा ७६औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार संविधानसभा सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गरेका हुन् ।
सङ्घीय सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु चार करोड ५० लाखमा चार वर्ष लगाएर विद्यालयको प्रशासनीक भवन निर्माण गरिएको हो । प्रशासनिक भवनसँगै दुईतलाको सात कोठे छात्रावास भवन निर्माण अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ ।
विद्यालय स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रशासनिक भवन उद्घाटनसँगै नृत्य र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । पालिकास्तरीय नृत्य प्रतियोगितामा भानु मावि लिच्कीराम्चे प्रथम, भगवती दिनानाथ मावि दोस्रो र विणा मावि लिकुवापोखरीले तेस्रो स्थान प्राप्त गरेको छ ।