उदयपुर। उदयपुर जिल्लामा साहासिक खेल प्याराग्लाडिङको परीक्षण उडान सफल भएको छ। यहाँ शुक्रबार र शनिबार दुई दिनसम्म गरिएको उडान परीक्षण सफल भएको हो।
परीक्षण उडान सफल भएपछि यहाँ व्यासायिक उडान शुरु हुने भएको छ। आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान शुरू गरिने भएको हो।
कटारी नगरपालिकाको सहयोग र गडिकोट प्याराग्लाइडिङ समितिको आयोजनामा व्यावसायिक प्याराग्लाइडिङ उडान सफल भएपछि अब गडिकोट पर्यटन विकास समितिको लगानी र कटारी नगरपालिकाको सहयोगमा यस क्षेत्रमा नियमित प्याराग्लाइडिङ उडान शुरु गर्न लागिएको नगरपालकाले जनाएको छ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई पोखरामा लगेर यस सम्बन्धी विशेष तालिमको व्यवस्था गरिएको छ। पोखराका केही प्राविधिकको सहयोगमा प्याराग्लाइडिङ उडान शुरु गर्न लागिएको बताइएको छ।