काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्थानीयबासीले सुन्धारा क्षेत्रको संरक्षण गर्न आग्रह गरेका छन् । काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयबासीको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमा गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार भएको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा खुला बगैंचा, मुद्रा तथा भूकम्प संग्रहालय र देशकै सबैभन्दा ठुुलो भूमिगत सुविधायुक्त पार्किङसहित नयाँ धरहरा निर्माण गर्न विशेष पहल गरेकोमा स्थानीय बासिन्दाको तर्फबाट धन्यवाद पनि दिइएको छ ।
सुन्धाराको सिरानमा रहेको जग्गामा कर्मचारी संचय कोषले विसं २०४४ मा दुई तल्ले भूमिगत पार्किङसहित कार्यालय भवन बनाउन जग खन्दा त्यहाँ प्राकृतिक रुपले २४ सै घण्टा अनवरत पानी प्रवाह हुने भूमिगत संरचनामा ठूलो क्षति भएपछि स्थानीयबासीको विरोधका कारण तत्कालीन नगर पञ्चायतले निर्माण स्वीकृति रद्द गरेको थियो ।
पछि, २०५७ सालमा महानगरपालिकाको तत्कालीन नेतृत्वले नक्सा पासको प्रक्रिया नै पूरा नगरी संचय कोषले हालको भवन निर्माण भएकोमा पानीको भूमिगत संरचनाको मर्मत गर्ने र त्यसलाई थप क्षति नपुग्ने गरी भवनको डिजाइन परिवर्तन गर्ने गरी सम्झौता भएको थियो ।
अहिले सुन्धाराको पानी निकासको भूमिगत ढलमा जथाभावी सामान बगाइएकाले भित्र पानी बग्नै नसक्ने गरी अवरोध भएकाले त्यसलाई खुुलाउन स्रोत साधनको अभाव भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ।