काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा २.८३ प्रतिशत विद्युत चुहावट घटाएको छ। प्राधिकरणले १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा झार्न सफल भएको हो।
नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण विद्युत चुहावट घटाउन सफल भएको छ।
कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो। गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो। गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरण तर्फको चुहावट २.७७ प्रतिशत विन्दुले कम हो।
प्राधिकरणले चालु आवमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो। पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।