काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर खोकनाबासीले काठमाडौं–तराईरमधेस द्रुतमार्गको प्रस्थान बिन्दु सार्न आग्रह गरेका छन् । आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिले प्रधानमन्त्रीसँग भेटेर द्रुतमार्गको प्रस्थान बिन्दु सार्न आग्रह गरेका हुन् ।
छलफलमा उनीहरुले खोकनामा सुरु बिन्दुु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले उक्त स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न सुझाव दिएका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नु पूर्व आफूू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर, वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर छलफल गरेका हुन् ।
छलफलमा सरकारका तर्फबाट रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी थिए ।