काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभर निर्माण सम्पन्न भएको छ । सडक विभागका महानिर्देशक डा.विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको र अबको केही दिनदेखि नै यातायात सञ्चालन गर्ने जानकारी दिएका हुन् ।
शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले पनि फ्लाई ओभरको स्थलगत निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए। अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जनाए ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाई ओभरको मध्य भागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य कामहरू बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे। केही दिन भित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने उनले जानकारी दिए।