काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका–१ र ८ मा पर्ने वन क्षेत्रमा वनेका अवैध घर टहरा हटाउन डिभिजन वन कार्यालय दोलखाले सात दिने अल्टिमेटम दिएको छ ।
डिभिजन वन कार्यालयले गएको जेठ २ गते १५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउन आग्रह गरेको थियो। पर्यटकीय वन क्षेत्र ओगटेर अवैध संरचना बनाउने होडबाजी रोक्न कार्यालयले सात दिनको अन्तिम समयसीमा दिएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ ।
सात दिनभित्र वन क्षेत्रमा बनेका होटल तथा अन्य संरचना नहटाए बल प्रयोग गरेर हटाउनले चेतावनी समेत दिइएको छ ।
विसं २०७९ मा शैलुङ गाउँपालिकाले वन क्षेत्रको जग्गा सम्याएर स्थानीय व्यवसायीलाई पल्टिङ गरी होटल तथा अन्य व्यवसाय सञ्चालन गर्न भाडामा दिएको थियो। तर, सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ ले सामाजिक सेवाको प्रयोजनमा निःशुल्क भोगाधिकार दिइएको जग्गा व्यापारिक प्रयोजनमा वा भाडामा लगाउन नपाइने व्यवस्था गरेको छ।