काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले कर नतिर्ने उद्योगमा ताला लगाएको छ । शुक्रवार मण्डनदेउपुर नगरपालिकाले तीन वटा इट्टा भट्टा र एक वटा क्रसर उद्योगमा ताला लगाएको हो ।
नगरप्रमुख टोकबहादुर वाईबाको नेतृत्वमा खटिएको अनुगमन टोलीले नगरपालिकामा दर्ता नभएका, कर नतिरेका तथा नवीकरण नगरिएका उद्योगहरूमा ताला लगाएको छ । नगरपालिकाले यस अघि पटक–पटक चेतावनी दिँदा पनि कानुनी दायरामा नआएपछि बाध्य भएर यस्तो कदम चाल्नु परेको पालिकाले जनाएको छ ।
अनुगमन टोलीले नगरपालिकाको वडा नम्बर ९ रायोबारीमा रहेको सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगमा ताला लगाइएको छ । उक्त उद्योगले आर्थिक वर्ष २०७८र७९ देखि हालसम्म ४५ लाख ८४ हजार कर तिर्न बाँकी छ । कर नतिरेको नगरपालिकाको वडा नम्बर ६ मा रहेको श्री कालिदेवी ईट्टा उद्योगमा ताला लगाएको छ । उक्त उद्योगले ६१ लाख, ८४ हजार कर नतिरेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, वडा ६ मै सञ्चालित श्री चण्डेनी नगरकोट ब्रिक्स ईण्डष्ट्रिज प्रा।लिमा ताला लगाएको छ । उक्त उद्योग नगरपालिकामा दर्ता नभएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा सञ्चालित श्री दक्षिणकाली इट्टा उद्योगमा पनि अनुगमन टोलीले ताला लगाइएको छ । उक्त उद्योगले ४५ लाख, ८४ हजार कर नतिरेको नगरपालिकाले जनाएको छ ।