जुम्ला । सुख्खा पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
राजमार्ग अन्तर्गत नाग्मा–जुम्ला खण्डको राँकामा ठूला ढुंगा र माटो सहितको पहिरो खसेपछि अवरुद्ध भएको सडक तीन घण्टापछि सञ्चालनमा आएको हो ।
पहिरोले सडक बन्द हुँदा दुवैतर्फ सवारी साधन जाममा परेका थिए । सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार जनशक्ति र मेसिनरी खटाएर पहिरो सफा गरी सडक यातायातका लागि खुला गरिएको हो ।
वर्षायामका कारण सडकको अवस्था जटिल हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न सडक डिभिजनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।