म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीयस्थल खोप्रालेक (खोपारा)मा २० लाख लागतमा भौतिक संरचना निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरेको हो ।
करिब एक सय ५० जना क्षमताको आश्रयस्थल, दुई वटा सार्वजनिक शौचालय र खोप्राबाट बयलीतर्फ जाने भिरमा पाँच सय मिटर पदमार्ग निर्माण भएको छ ।
पदमार्गमा ढुङ्गा पनि बिछ्याइएको र करिब ६० मिटर पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको छ । गत वर्ष जडान गरिएको एक हजार ८०० मिटरको पाइपलाई जमिनभित्र गाडिएको छ । यसअघि निर्माण भएको सामुदायिक लजको भवनमा रङगरोगन र भल तर्काउने कुलेसो निर्माण समेत भएको छ ।