काठमाडौं । दोलालघाट–चर्मावती सुरुङमार्ग काठमाडौंलाई चीनसँग जोड्ने ‘फास्ट ट्र्याक’ बन्ने सरोकारवालाहरूले बताएका छन् । शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले परियोजनालाई चीनसँगको कनेक्टिभिटीको ‘कोसेढुङ्गा’ बन्ने बताएका हुन् ।
मन्त्री दाहालले घना बस्ती, उत्पादन हुने क्षेत्र र छिमेकीसँगको जोडलाई दृष्टिगत गरेर परियोजना अघि बढाइने स्पष्ट पारे ।
उनले प्रारम्भिक कामका लागि विनियोजन गरिएको ४५ लाख रुपैयाँ अपुग रहेको स्वीकार गर्दै आवश्यकता अनुसार थप बजेट उपलब्ध गराइने बताए । नेपाल विकासशील राष्ट्रमा परिणत हुनु अगावै सस्तो ब्याजमा वैदेशिक ऋणको व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सुरुङ मार्ग दोलखाको धार्मिक, पर्यटकीय र आर्थिक विकासको ‘गेम चेञ्जर’ हुने धारणा राखे । पूर्वमन्त्री आनन्द पोखरेलले यसले चीन–भारत सन्तुलनसहित धार्मिक र सभ्यताको जगेर्नामा भूमिका खेल्ने बताए भने पूर्वमन्त्री पार्वत गुरुङले यसलाई बीपी राजमार्गको विकल्पको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।