काठमाडौं । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेका छन् । समितिका सभापति दीपक सिंहको संयोजकत्वमा बुधवार ओभरपासको स्थलगत निरीक्षण गरिएको हो ।
निरीक्षणका क्रममा ओभरपासको प्रगतिबारे जानकारी लिइएको छ । ओभरपासको अधिकांश कार्य सम्पन्न भए पनि केही साना काम बाँकी छन् । लाइट जडान गर्नुपर्ने, सुरक्षा सुनिश्चितताका लागि सिसी क्यामरा जडानलगायतका काम बाँकी रहेको समितिलाई जानकारी गराइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी शुक्रवार ओभरपास उद्घाटन गर्ने भएको छ ।
विसं २०७८ फागुन १२ गते ठेक्का सम्झौता भई निर्माण सुरु भएको फ्लाइओभर परियोजना विभिन्न चरणमा म्याद थप गर्दै २०८१ साल पुस ८ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।