काठमाडौं । ललितपुरस्थित ग्वार्को ‘फ्लाई ओभर’ को आज उद्घाटन हुने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा ‘फ्लाई ओभर’ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।
केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको काम समेत ठप्प भएको थियो ।
निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हाल सम्मको करिब रु एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न भएको छ ।