काठमाडौँ। सुदूरपश्चिमको राजधानी कैलालीस्थीत धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि एक अर्ब बजेट विनियोजन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको हो। बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए।
धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव पारित भएको छ, अब चाँडै मन्त्रिपरिषद्मा लैजाने र उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने प्राधिकरणले बताएको छ। आले पर्यटन मन्त्री भएलगत्तै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने प्रतिबद्धता जनाएअनुसार उक्त बजेट विनियोजन गरिएको हो।