काठमाडौं । बाढीले पूर्ण रूपमा क्षति पुर्याएको रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा मर्मत गरिएको छ । खाँडादेवी गाउँपालिकाको विपद् व्यवस्थापन कोषअन्तर्गको रु चार लाख ५० हजार लागतमा अस्थायी रूपमा पुल मर्मत गरिएको हो ।
पुल बीच बीचमा काठको फल्याक र किनारामा बाँसको बार लगाएर अस्थायी रुपमा मर्मत गरिएको छ । अस्थायी रुपमा पुल मर्मत भएपछि वर्खामा खोलाबाट वारिपारी गर्नुपर्ने बाध्यता हटेको छ ।
पुल मर्मत भएसँगै खाँडादेवी–४ बाट सुनकोशी गाउँपालिकाको दीर्घ प्रदिम माविमा अध्ययन गर्न जाने दुई दर्जनभन्दा बढी बालबलिका, खाल्टेमा खेती गर्न जाने अधिकांश किसान र खाल्टेबाट खाँडादेवी वारिपारि गर्ने कर्मचारीलाई निकै सहज भएको स्थानीय बताउँछन् ।