काठमाडाै । सर्लाहीमा बाटो चौडा गर्ने विषयमा विवाद भएपछि प्रहरीले गोली चलाएको छ । शनिवार बिहान सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा बाटो विस्तारको क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको हो ।
बाटो विस्तारका क्रममा केही स्थानीयले विरोध जनाउँदै ढुङ्गा मुढा गरेपछि अवस्था शान्त बनाउन प्रहरीले फायर गरेको हो ।
घटनामा प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ भने प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ । दुवै जनाको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, बरहथवा नगरपालिका–४ खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते भएका छन् । घाइतेमध्येका टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
झडपमा संलग्न भएको अभियोगमा सातजनालाई नियन्त्रणमा लिइएको छ ।