काठमाडौं। बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले सोमवार बिहान नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।
खोलामा पानीको बहाव अत्यधिक बढेपछि वैकल्पिक मार्गको रुपमा प्रयोग भएको उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने स्थिति भएको छ ।
निरन्तरको वर्षासँगै पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयीखोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि बगाएको थियो । डाइभर्सन बगाएपछि होल्डमा राखिएका साना तथा मध्यम सवारीसाधनलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्ग प्रयोग गरी आवतजावत गराइँदै आएको थियो । त्यो मार्ग पनि अवरोध भएपछि अहिले यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।