तनहुँ । मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सम्पन्न भएको छ । मुग्लिन पोखरा सडकको पूर्वी खण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको चार लेनमा ‘डबल’ लेनमा कालोपत्र गर्ने काम पूरा भएको हो ।
पूर्वी खण्डमा अब स–साना काम मात्रै बाँकी छ । ४१ दशमलव पाँच किलोमिटर दूरीको उक्त खण्डमा सडक सुरक्षा, सडक मार्किङलगायतका काम पनि भइरहेका छन् । सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनको अवधिमा कालोपत्रको काम सकिएको हो ।
कालोपत्रको काम सकिएको खुसीयालीमा निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आज तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको छ ।
कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि, परामर्शदाता, कामदारलगायतको उपस्थिति थियो ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।