काठमाडौं । नारायगण–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने खण्डमा यातायात सहज बनाउन मर्मत कार्यलाई प्राथमिकता दिइने भएको छ । दाउन्ने खण्डमा अब निर्माणको काम रोकेर मर्मतको काम मात्र गरिने आयोजनाले जनाएको छ ।
पानी पर्ने बित्तिकै दाउन्ने खण्डमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । यो समस्या समाधानका लागि कल्भट निर्माणसहित अन्य काम रोकेर मर्मतको काममात्र गर्न लागिएको हो। दाउन्ने खण्डमा ग्राभेल राखेर नियमित मर्मतको काम गर्ने र पानी परे पनि यातायात सञ्चालनमा समस्या आउन नदिने गरी काम गर्ने बताइएको छ ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कूल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छरछ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ ।