काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पूर्वाधार विकास समितिको आजको बैठकमा विभिन्न क्षेत्रका अलपत्र सडकदेखि पुलसम्मका विषयमा ध्यानाकर्षण गराएका छन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा तत्काल सडक विस्तार गरी आवागमन सहज बनाउनुपर्ने बताए । दाउन्ने खण्डमा सडक तिस्तार ढिलाइ भएकाले यात्रु बुटवल–पाल्पा–स्याङ्जा–पोखरा–तनहुँ–मुग्लिङ–काठमाडौँको लामो यात्रा गर्नुपरेको उल्लेख गर्दै बाटो विस्तारलाई शीघ्र सम्पन्न गर्न उनले आग्रह गरे ।
सांसद मैना कार्कीले मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड समयमा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले देशका विभिन्न स्थानमा पुल निर्माण हुन नसक्दा वर्षाको समयमा जनतालाई सास्ती भएको जनाउँदै निर्माणाधीन अवस्थामा रहेका पुललाई शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री प्रकाश ज्वालाले वर्षाद्को समयमा मुलुकका विभिन्न स्थानमा हुनसक्ने बाढी, पहिरो र डुवानका घटनालाई कम गर्न सरकारले पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।