काभ्रेपलाञ्चोक । वीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा थप एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाउने जानकारी दिएको हो ।
कार्यालयद्वारा आज सूचना जारी गर्दै आइतवारदेखि साँझ ६ः३० देखि बिहान ५ बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको छ ।
सूचनामा मनसुन सक्रिय भएको अवस्थामा वीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ । यसअघि यही असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो ।
मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई यसअघि १५ दिनका लागि राति सञ्चालनमा रोक लगाइएको थियो । आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ ।