काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएको छ । अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रूपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको पुल शनिवार बिहान भाँचिएको हो ।
पुल भाँचिएपछि सो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् । त्यस्तैगरी स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्ने हुँदा पुल भाँचिदा जोखिम मोलेर हिँड्नुपरेको छ।
हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए। जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ।