काठमाडौं। उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं टावरको काम नरोक्न अन्तरिम आदेश दिएको छ । टावरको निर्माण रोक्ने काठमाडौं महानगरपालिकाको निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्सले दायर गरेको रिटमा सोमवार उच्चले अन्तरिम आदेश जारी गरेको हो ।
९ माघ, २०८१ मा काठमाडौं महानगरपालिकाले पत्र पठाई काठमाडौं टावरको निर्माण रोक्न आदेश दिएको थियो । महानगरपालिकाले निर्माणाधीन टावरको नक्सा पास प्रक्रियाबाहिर गएर गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि छानबिन समिति बनाएको थियो ।
न्यायाधीश प्रकाश खरेलको इजलासले निर्माण कम्पनीले तला थप्न महानगरबाट अनुमती लिएको, नक्सा स्वीकृत भइसकेको र नक्सा स्वीकृती लिँदाको दस्तुर समेत तिरिसकेको भन्दै निर्माण नरोक्न आदेश दिएको हो । उच्च अदालतको आदेशसँगै निर्माण कम्पनीलाई टावर निर्माण कार्य जारी राख्ने बाटो खुलेको छ ।