फाइल तस्बिर
पर्सा । वीरगञ्ज महानगर बहुदरमाई नगरपलिकाको सिमानामा रहेको तिलाबे पुल बाढीले क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने भनिएपनि हालसम्म जडान कार्य गर्न सकिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्टिल बेलिब्रिज उपलब्ध नगराउँदा सडक विभाग पर्साले पुल जडानका लागि आह्वान गरेको बोलपत्र समेत रद्द गरेको छ ।
विसं २०८१ को वर्षायाममा बाढीले तिलाबे पुलमा क्षति हुँदा आवतजावतमा समस्या छ । बाढीले तिलाबे पुलको फाउण्डेसनसँगै रहेको पिलरमा क्षति भएपछि पुल जोखिममा छ । हाल पुलबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सडक विभागले चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी बेलिब्रिज जडान र एप्रोच सडक निर्माणका लागि रु तीन करोड ३० लाखको ठेक्का आह्वान गरेको थियो । एक साताभित्रै स्टिल बेलिब्रिज जडान गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो । तर, वर्षायाम सुरु भइसकेकाले ठेक्का रद्द गरेर काम रोकिएको छ ।