काठमाडाै । म्याग्दीको मालिका गाउँपालिका–५ थापाचौर र वडा नं ६ को सावटा बस्ती जोड्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । ९६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनी सोमरस निर्माण सेवासँग रु ३९ लाखमा २०८२ असार ३ गते ठेक्का सम्झौता भएको हो ।
गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चार वटा सडक स्तरोन्नति सम्बन्धी योजना थपिएका छन् । सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी आयोजना कार्यान्वनयका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६० करोडमा ठेक्का सम्झौता भएको छ ।
चार वटा सडक स्तरोन्नति र एक झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको ठेक्का प्रक्रिया सकेर निर्माणको चरणमा प्रवेश गरेका पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ती आयोजना बर्खायामलगत्तै निर्माण सुरु गर्ने तयारी छ ।
प्रदेश सरकारमार्फत आव २०८०/८१ मा म्याग्दीमा सात वटा सडक र दुईवटा मोटरेबल पुल निर्माणका लागि रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । त्यसअघिका वर्षका एक सडक र एक मोटरेबल पुल निर्माणाधीन छन् ।