काठमाडौं। धनुषाको मिथिला नगरपालिका १ स्थित ढल्केवर सौर्य विद्युत आयोजना सञ्चालनमा आएको छ। आयोजनाको एक मेगावाट विद्युत आइतबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।
अपि पावर कम्पनीले निर्माण गरेको उक्त आयोजना विद्युत उत्पादन गर्ने उद्देश्यले निजी लगानीमा सञ्चालनमा आएको हो। अनुमानित नौ करोड भन्दामाथी लागत लागेको आयोजनामा बैंक अफ काठमाडौंको एकल लगानी रहेको छ।
आयोजनाको विद्युत ११ केभी प्रसारण लाइनमार्फत दुई किलोमिटरको दुरीमा रहेको ढल्केवर सबस्टेसनमा जोडिएको छ भने, आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ।
सौर्य विद्युत आयोजना प्रसारण प्रणाललीमा जोडिएपछि धनुषाको विद्युत वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा दिगो र गुणस्तरीय विद्युत प्रवाह हुने अपि पावर कम्पनीले जनाएको छ।