इलाम । इलामको माई नगरपालिकामा १० करोड ७० लाख लागतमा १५ शय्याको माई नगर अस्पताल निर्माण सम्पन्न भएको छ । नवनिर्मित अस्पताल भवनको शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
सङ्घीय सरकारको सहयोगमा आर्थिक वर्ष २०७७÷०७८ देखि अस्पताल भवन निर्माण सुरु भएको थियो । साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ ।
नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु भएको छ । २४सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए ।
अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स(रे, भिडियो एक्स(रे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको छ । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ ।