काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना स्वीकृत भई कार्यान्वयनमा रहेको जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले यस्तो जानकारी दिएका हुन् ।
उनले विमानस्थलको दिगो सञ्चालनका लागि विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर समन्वय भइरहेको बताएका छन् । उनले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न विभिन्न प्रकारका सहुलियतहरू प्रदान गरिएको र यसले उडान सङ्ख्या वृद्धि हुने सम्भावना रहेको उल्लेख गरे ।
हाल हिमालयन एयरलाइन्समार्फत पोखरा–ल्हासा मार्गमा नियमित उडान भइरहेको र अन्य विमान कम्पनीहरूसँग पनि समन्वय तथा छलफल गरी उडान विस्तारको प्रयास भइरहेको उनको भनाइ छ ।