काठमाडौं । धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा निर्माण भइरहेको बाघ खोला पुलको काम अन्तिम चरणमा पुगेको छ । दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको हो ।
एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीले निर्माण गरेको उक्त पुलको केही काम मात्र बाँकी रहेकाले सवारी साधन सञ्चालन सुरु भइसकेको जानकारी दिएको छ ।
उक्त कम्पनीले निर्माण गरिरहेको धरानकै बगुवा खोलाको ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको काम पनि अन्तिम चरणमा पुगेको छ । उक्त पुलको निर्माण ९५ प्रतिशत सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
धरानकै ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम पनि ९० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनीले यी ३ र रेल्वे पुलको कामसहित ४ वटा पुल निर्माणका लागि २१ करोड ७८ लाख ६३ हजार ७५० मा २०७९ साल जेठ महिनामा ठेक्का लिएको थियो ।
तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको छ । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।