काठमाडौं। बैतडी जिल्लामा रहेको पाटन विमानस्थल स्तरोन्नतिका लागि रु १ करोड ५० लाख बढी बजेट विनियोजन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजना अन्तर्गत बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको हो।
उक्त बैठकले धनगढी, दार्चुला, डोटी, साँफेबगर, कमलबजार, महेन्द्रनगर, बाजुरा र डडेल्धुरा विमानस्थलका लागि बजेट विनियोजन गरेको छ। २६ वर्षदेखि बन्द रहेको पाटनको विमानस्थल ११ करोड बजेटमा कालोपत्र गरी विसं २०७७ असोज अन्तिम सातादेखि पुनः सञ्चालनमा ल्याएको छ। उक्त विमानस्थलबाट हाल साताको एक दिन शुक्रबार पाटन–धनगढी नियमित उडान हुने गरेको छ।
विसं २०३२ देखि पाटनमा विमानस्थल निर्माण थालिएकामा २०३५ सालमा निर्माण सम्पन्न गरी हवाई उडान सुरुगरिएको थियो। पछि फेरी २०५२ सालदेखि उक्त विमानस्थल बन्द भएको थियो। विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो। उक्त विमानस्थलको धावनमार्ग निर्माण भएको भएपनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण अझै सुरु भएको छैन।