काठमाडौं। सिरहामा सडक निर्माण कार्यमा गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । सिरहाको सदरमुकाम सिरहा हुँदै भारतसँगको सीमावर्ती बजार माडर जोड्ने सडकअन्तर्गत माडर बजार क्षेत्रको आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै मंगलवार स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीयले सरकारी निकाय र निर्माण कम्पनीबीचको मिलेमतोमा योजनाबमोजिमको मापदण्ड नअपनाई कमसल सामग्री प्रयोग गरिएको आरोप लगाएका छन् । माडरको कालि मन्दिरबाट भन्सार जाने बाटोको ६० मिटर सडकमा गत आइतबार राति गरिएको ढलानमा गिट्टी, बालुवा र सिमेन्टको अनुपात नमिलाई कमसल निर्माण गरिएको उनीहरुको भनाइ छ । सोमबार बिहान अनुगमनका क्रममा लट्ठीले घोच्दा पनि सडक फुटेको समेत उनीहरुले बताए ।
गुणस्तरहीन निर्माण भएपछि नगरपालिकाका प्राविधिक र प्रहरी बोलाएर अनुगमन गरी निर्माण व्यवसायीको मिक्स्चर र पानीट्याङ्कर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएको बताइएको छ ।